बाह्रखरीमा प्रकाशित मिति  – शनिबार, मंसिर १३, २०७७

नेपालमा  पहिलोपटक डिजिटल कन्क्लेभको आयोजना हुँदै छ । आज बिहानदेखि हुन गइरहेको सम्मेलनले कोभिड १९ ले डिजिटल इकोनोमीमा दिएको अवसरका साथै समस्या र चुनौतीका हरेक विषयमा छलफल हुनेछ । यो सम्मेलन किन गर्न लागिएको हो ? यसको उपलब्धि के हुन्छ ? लगायतका विषयमा यसका आयोजक ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलसँग गरिएको संक्षिप्त कुराकानी । 

डिजिटल कन्क्लेभ आजदेखि सुरु हुँदै छ । यो कार्यक्रम कसरी हुँदै छ ?
नेपालमा कोभिड १९ पछि डिजिटलाइजेसनको प्रयोग बढेको छ । नीति निर्माता, नियामक निकाय, निजी क्षेत्र र उपभोक्ताबीच डिजिटलाइजेसनको अवस्था विषयमा बृहत् छलफल गर्न लागेका हौं ।

यो कार्यक्रम आज (शनिबार) बिहान साढे ९ बजेदेखि बेलुका ६ बजेसम्म एपीवान टेलिभिजनमा प्रसारण हुनेछ । यसको मुख्य वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । कन्क्लेभमा डिजिटल अर्थतन्त्रमा काम गरेको निजी क्षेत्रको पनि सहभागितामा डिजिटलाइजेसनमा समस्या, अवसर, चुनौती र समाधानका विषयमा वृहत छलफल हुनेछ ।

सबै स्टेकहोल्डरको सहभागिता छ भन्नुभयो, को-को सहभागी हुँदै हुनुहुन्छ ? 
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निजी क्षेत्रका तर्फबाट विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकर्स संघका अध्यक्षलगायतको सहभागिता रहन्छ । कार्यक्रममा सातवटा सेसन छ । सात सेसनमा फरक-फरक विषयमा छलफल हुन्छ भने त्यसमा उक्त क्षेत्रका विज्ञहरुसँग छलफल हुन्छ ।

डिजिटल इकोनोमी कन्क्लेभ पहिलोपटक आयोजना हुँदै छ, यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य के हो ?
कोभिडपछि हाम्रो आर्थिक क्रियाकलाप डिजिटलाइज हुँदै गएको छ । कोभिडअघि पनि एउटा अवस्थामा थियो तर स्लो थियो । कोभिडपछि डिजिटलाइजेसन अथवा क्यासलेस अर्थतन्त्र बनाउने अवसर सिर्जना भएको छ । यसअघि पनि एउटा स्प्रिटमा अगाडि बढ्दै थियो तर कोभिडले यसलाई विस्तार गर्ने अवसर दिएको छ । कोभिड आफैंमा असामान्य अवस्था हो । तर यो असामान्य अवस्थामा पनि केही सम्भावना देखिएको छ । जुन नेपालको अर्थतन्त्रको डिजिटलाइजेसनमा पनि देखिएको छ ।

अहिले क्यासलेस कारोबार बढेर गएको छ । पहिले लाइनमा बसेर गर्नुपर्ने काम अहिले अनलाइनमा सिफ्ट भएको छ । चाहे बैंकिङ क्षेत्र अथवा शिक्षा क्षेत्रमा होस्, सेवा प्रदायक र सेवाग्राही दुवैलाई अवसर पनि दिएको छ । डिजिटलाइजेसनमा के कस्ता समस्या छन् र त्यसका समाधान के-के हुन सक्छन् ? कुनै पनि अवसर आउँछ भने त्यहाँ समस्या पनि आउने सक्छ, त्यो समस्या र चुनौती के-के छन् त्यसलाई एउटै ठाउँमा मन्थन गर्न यो कार्यक्रम आयोजना गरिएको हो । हामीले कार्यक्रममार्फत कोभिडपछिको डिजिटल इकोनोमीलाई नै समात्न खोजेको हो ।

यो कार्यक्रमले केही निष्कर्ष निकाल्छ होला ? त्यसको कार्यान्वयन गर्न सरकारी तथा अन्य निकायलाई पनि दिने योजना छ कि ?
यसमा स्टेकहोल्डरका रुपमा नेपाल राष्ट्र बैंक, नेपाल आर्थिक पत्रकार समाज (सेजन) लगायत संस्था पनि छन् । उहाँहरुले पनि यसमा एउटा रिपोर्ट दिनुहुन्छ । हामीले कार्यक्रमको निष्कर्षसहितको रिपोर्ट बनाएर नीति-निर्माता, स्टेक होल्डर तथा मिडियालाई पनि प्रदान गर्छौं । यो सम्मेलनका लागि सम्मेलन मात्रै होइन, यसले नीति निर्मातालाई झक्झक्याउने काम गर्नेछ भने यस्ता कार्यक्रमले निजी क्षेत्रलाई पनि उत्साह प्रदान गर्नेछ ।

भनेपछि कार्यक्रमले अबको डिजिटलाइजेसनमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषयमा गहन छलफल गरेर निष्कर्ष निकालिन्छ, कार्यान्वयनका लागि सरकारलाई पनि दिइन्छ ? 
कार्यक्रमले आईटी क्षेत्र मात्रै नभएर डिजिटल इकोनोमीको विषयमा सम्भावना र चुनौती जे अवस्था छ, यो मन्थनबाट निस्किएको रिपोर्ट यसका हरेक सम्बन्धित पक्ष नियामक, कार्यान्वयन गर्ने पक्ष, नीति निर्माता तथा सबै सरोकारवालासमक्ष पुर्‍याउँछौं ।